नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘नेतृत्व कमजोर हुँदा पार्टी नै कमजोर अवस्थामा पुगेको’ बताएका छन् । जननायक बिपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघले बिपी संग्रहालय सुन्दरीजलमा बुधबार बिहान आयोजना गरेको ‘वृक्षारोपण कार्यक्रम’लाई सम्बोधन गर्दै पौडेलले नेतृत्वकै कारण पार्टी कमजोर भएको बताएका हुन् ।
‘नेतृत्व नै कमजोर भएपछि पार्टी कमजोर भयो, सरकारको गलत क्रियाकलाप भण्डाफोर भएन,’ उनले भने, ‘पार्टी नेतृत्व महाधिवेशन टार्ने षड्यन्त्रमा लागिरहेको छ, पार्टीलाई शक्ति दिन महाधिवेशनको विकल्प छैन ।’
भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनसमेत कांग्रेसको मुख्य आवश्यकता भएको पौडेलले औंल्याए । सम्बोधनक्रममा उनले ‘कुनै पनि नेताको पछि नलागी पार्टी संगठन बनाउनेतर्फ लाग्न’समेत आग्रह गरे ।
पौडेलले बिपीले मुलुकमा सामन्तवादी युग अन्त्य गरेर लोकतन्त्रका लागि लडेकाले कोइराला ‘युगान्तकारी नेता’ भएको र कांग्रेसले बिपीको आदर्श र सिद्धान्त नभुलेको पनि प्रष्ट पारे ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्रको विवाद समाधानका लागि नेतृत्व मिल्नुको विकल्प नरहेको जिकिर गरे । कार्यक्रममा नेविसंघ अध्यक्ष राजिव ढुंगाना, महामन्त्री बलदेव तिमल्सिनालगायतले नेपाली राजनीतिक क्षेत्रमा बिपीले पु¥याएको योगदानको चर्चा गरेका थिए ।