गेटाफेविरुद्ध कठिन खेलमा जित हासिल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड बार्सिलोनालाई पछि छोड्दै ला लिगा उपाधिको नजिक पुगिसकेको क्लबका डिफेन्डर ड्यानी कार्भाजलले बताएका छन् ।
बिहीबार लिगअन्तर्गत घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई पराजित गरेपछि रियलले अंक तालिकाको शीर्षस्थानमा ४ अंकको अग्रता कायम गर्यो । साविक विजेता तथा निकटतम प्रतिद्वन्द्वी बार्सिलोनाले पछिल्लो समय लगातार अंक गुमाएपछि रियलले उपाधि होडमा पकड जमाएको हो ।
त्यसो त रियलले पनि अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकिरहेको छैन । तर नतिजाको हिसाबले भने रियल लगातार जितको सिलसिलामा छ । बिहिबार गेटाफेविरुद्ध पनि रियललाई जित दर्ता गर्न हम्मे हम्मे परेको थियो । खेलको ७९ औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भएको थियो । कार्भाजललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।
खेलपछि बोल्दै कार्भाजलले अब रियल उपाधिको नजिक पुगिसकेको अभिव्यक्ति दिए । ‘अब यो प्रष्ट छ की लिग हाम्रै हातमा छ । हामी ४ अंकले अगाडी छौं र आफ्नो लयलाई निरन्तरता दिँदै लिग जित्नेमा ढुक्क छौं । हामीले अब बार्सिलोनालाई पछाडी छोडेका छौं र आफ्नै नतिजाले उपाधिसम्म पुग्नेछौं,’ उनले भने ।
‘गेटाफेविरुद्ध खेल सहज हुनेछैन भन्ने थाहा थियो । गेटाफेले निकै सन्तुलित प्रदर्शन गर्यो । हामीले जसरि पनि बार्सिलोनाको कमजोरीको फाइदा उठाउनु थियो । आजको खेल फाइनल जस्तो नै थियो ।’
‘ गेटाफेले निकै समस्या दिएपनि हामी एक भएर लाग्यौं । अन्त्यमा मैले वन भर्सेस वनको अवस्थामा पेनाल्टी जित्न सकें । आजको खेलमा त्यहि गोल नै निर्णायक भयो ।’
रियलले अब आइतबार हुने खेलमा एथ्लेटिक बिल्बाओको सामना गर्नेछ । रियलले खेल्न बाँकी रहेको ५ खेलमध्ये यो नै सबैभन्दा कठिन चुनौती रहेको आँकलन गरिएको छ ।