विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसले अन्य क्षेत्रमा जस्तै विश्व चलचित्र उद्योगमा पनि ठूलो असर पुगेको छ । चलचित्र घरहरू बन्द छन् । छायांकन ठप्प छ । पोस्ट प्रोडक्सनको काम सकेर रिलिज डेट लिएर बसेका चलचित्र सामान्य समय कुरेर बसेका छन् ।
विश्व चलचित्र उद्योग विशेष गरी हलिउड चलचित्रको ठूलो बजार चीनमा यसको असर देखिसकेको छ । चीनले माहामारीका कारण ७० हजार चलचित्र घरहरू बन्द गर्दा त्यसको प्रत्यक्ष असर हलिउडका चलचित्रमा परेको हो ।
कोभिड–१९ को संक्रमण विश्वभरि फैलिएका कारण विश्वभर चलचित्र उद्योगले करिब ५ अर्ब डलर क्षति ब्यहोरिरहेको अनुमान गरिएको छ ।
चीनमा यस वर्षको (२०२०) जनवरी २४ देखि फेब्रुअरी २३ गतेसम्ममा ४.२ मिलियन डलरको टिकट बिक्री भएको थियो । जुन गत वर्षभन्दा २ गुणा बढी थियो । तर कोरोनाको संक्रमणका कारण बिक्री भइसकेका टिकट पनि फिर्ता गर्नु पर्यो ।
चीन सरकारले कलाकारहरूलाई महामारीको रोकथाम नभएसम्म छायांकनमा नजान निर्देशन दिएको छ । जापानमा पनि कोरोनाका कारण १०–१५ प्रतिशतसम्म टिकट बिक्रीदर घटिसकेको छ ।
अमेरिका र क्यानडापछि विश्व चलचित्र उद्योगको ठूलो मार्केटमा चीनका चलचित्र घरहरू पर्छन् ।
महामारीका कारण हलिउडका चर्चित निर्माताहरूले आफ्नो चलचित्र निर्माण र रिलिजमा रोक लगाएका छन् । कोरोनाका कारण जेम्स बोन्ड सिरिजको ‘नो टाइम टु डाई’ ले ६ महिनाका लागि चलचित्रको रिलिज मिति पछि सारेको छ । अर्को हलिउड चलचित्र ‘मिसन इम्पोसिबल–७’ ले आफ्नो छायांकन रोकेको छ । यो चलचित्र इटलीमा छायांकन हुँदै थियो । इटलीमा हालसम्म साढे २९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । २ लाख १४ हजारभन्दा धेरैमा संक्रमण देखिसकेको छ ।
यदि कोरोनाले अमेरिकी चलचित्र घरहरू पनि बन्द गर्नुपर्ने अवस्था आयो भने चलचित्र उद्योगमा भयानक आर्थिक नोक्सानी हुने पक्का छ । अहिले अमेरिकामा अति प्रभावित न्युर्योक लगायत केही सहरमा मात्रै चलचित्र घरहरू बन्द छन् । अमेरिकामा भने राष्ट्रपति डोनाल्ड ट्रम्प नै बन्दको खिलाफमा रहेकाले पूरै देशभर चलचित्र घरहरू बन्द हुने सम्भावना कम छ । यद्यपि कोरोना संक्रमणको जोखिमका कारण हलमा दर्शक जाने अवस्था नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नेपालमा भने लकडाउन सुरु हुनुभन्दा अगाडिदेखि नै सिनेमा हलहरू बन्द छन् । फागुन १६ गतेबाट चलचित्र रिलिज हुन सकेनन् । ठूलो बजेटमा बनेका चलचित्रहरू रिलिज हुने तय भए पनि कोरोनाका कारण थाती रहे । छायांकनमा रहेका चलचित्रहरू बीचमै फर्किए । बजार नै अनिश्चित रहेका कारण तत्काल चलचित्र छायांकनमा जाने अवस्था छैन ।
लकडाउनका कारण विश्वको एक तिहाई जनसंख्या घरभित्रै रहेका कारण यतिबेला चलचित्रका डिजिटल प्लेटफर्ममा रहेका सिनेमा तथा सिरिजहरूको भ्युज आकाशिएको छ । नयाँ चलचित्रको माग उच्च रहेको इन्टरनेट स्ट्रिमिङ साइटहरूले जनाएका छन् । चलचित्रको माग बढेसँगै यस्ता डिजिटल प्लेटफर्महरूले नयाँ चलचित्र खरिद पनि बढाएका छन् ।
भारतमा टेलिभिजन च्यानलहरूले ठूलो रकममा बलिउड स्टारहरूका चलचित्र खरिद गर्ने प्रस्ताव गरिरहेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सलमान खानको चलचित्र ‘राधे’ लाई डिजिटल प्लेटफर्म ‘ओटीटी’ ले किन्न खोजिरहेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार ‘राधे’ लाई ‘ओटीटी’ ले १५० करोडको अफर गरेको छ । तर ‘राधे’ को निर्माण टिमले भने २५० करोड मागेको छ । दुई पक्षबीच पैसामा सहमति भए दवङ स्टार सलमानको चलचित्र हलमा नभएर डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ ।